यो पुस्तक ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ ओटा प्रेरक प्रसङ्गको सङ्कलन हो । इतिहासमा परमेश्‍वरले सामान्यभन्दा सामान्य मानिसहरूलाई कसरी अद्भुत रूपमा चलाउनुभयो भनेर बुझ्नका लागि यो किताबले केही ज्योति छर्ने काम गर्दछ । चकित पार्ने त्यस्ता सन्दर्भहरूको ज्ञानले तपाईंलाई पनि जीवनमा परमेश्‍वरको निम्ति केही असाधारण काम गर्ने उर्जा मिल्न सक्छ ।

यो किताबमा जम्माजम्मी ३६६ ओटा प्रेरक प्रसङ्ग छन् र हरेक पाठ लगभग उही आकारको छ अर्थात् २७५-३२५ ओटा शब्दले बनेको छ । हरेक दिन एउटा-एउटा पाठ पढेर एक वर्षमा सक्‍ने गरी यस पुस्तकलाई तयार पारिएको छ । हरेक पाठ मितिसित सम्बन्धित छ । भनाइको मतलब यही हो कि तपाईंले जुन दिन जुन पाठ पढ्नुहुन्छ इतिहासमा त्यही महिना र तारिखमा कुनै न कुनै घटना घटेको पाउनुहुने छ । यहाँ तपाईंले कसरी ख्रीष्‍टियान शिक्षाको नतिजास्वरूप मान्छेको मासु खाने आदिवासीहरू बद्‌लिए भन्‍ने कथादेखि कसरी अन्तरिक्ष यात्रीहरूले चन्द्रमामा प्रभु-भोज खाए भन्‍ने कथासम्म पढ्न पाउनुहुने छ ।

येशू शुक्रबार गाडिनुभयो र आइतबार पुनरुत्थान हुनुभएको थियो भने कसरी तीन दिन र तीन रात पृथ्वीको गर्भभित्र रहनुभएको हुन सक्छ ? येशू परमेश्वर हुनुहुन्छ भने किन उहाँलाई आफ्नो आगमनको समय थाहा भएन ? येशूले “कसैलाई आफ्ना पिता नभन” भनी आज्ञा दिनुहुँदा उहाँको भनाइको मतलब के हो ? कयिनकी पत्नी को थिइन् ? परमेश्वरले भन्नुभएजस्तै निषेधित फल खाएका दिनमा नै आदम किन मरेनन् ? किन परमेश्वरले मोशालाई मार्ने इच्छा गर्नुभयो ? सबै पापी छन् भने अय्यूब कसरी निर्दोष भएका हुन सक्छन् ? मानिस कसरी धर्मी ठहरिन्छ— विश्वासद्वारा वा कामद्वारा ? येशूले किन अञ्जीरको रुखलाई सराप दिनुभयो ? किन येशूले आफ्नी आमा मरियमलाई “हे नारी” भनी सम्बोधन गर्नुभयो ? यीलगायत बाइबलका १५१ ओटा कठिन प्रश्नको सरल ढङ्गमा जवाफ दिइएको यो पुस्तक हरेक गम्भीर बाइबल विद्यार्थीको लागि हो । बाइबल अध्ययनको क्रममा यसका कठिनाइहरूलाई बुझ्न तपाईंले सङ्घर्ष गर्नुभएको छ भने यो कृति तपाईंको समाधान हुन सक्छ ।

परमेश्वर सर्वव्यापी हुनुहुन्छ भने आदम र हव्वा कसरी उहाँको नजरबाट लुक्न सके ? परमेश्वर आत्मा हुनुहुन्छ भने कसरी उहाँका औँलाहरू हुन सक्छन् ? के विश्वास नगर्ने पत्नीलाई त्याग्नुपर्ने हो ? किन एस्तरको पुस्तकमा परमेश्वरको नाउँ उल्लेख भएको छैन ? पृथ्वी सदासर्वदा रहिरहन्छ वा रहँदैन ? निष्पाप हुनुभएर पनि येशूले किन बप्तिस्मा लिनुभयो ? के कसैलाई “तँ मूर्ख” भन्दैमा हामी नरकको आगोमा पर्ने जोखिममा पर्छौं ? के येशूले हामीलाई सय गुणाभन्दा बढी भौतिक आशिष् दिने प्रतिज्ञा गर्नुभएको छ ? किन येशूले ३० वर्षको उमेरमा सेवाकार्य सुरु गर्नुभयो ? के येशूमा विश्वास गर्ने कहिल्यै मर्दैन र ? पावलको शरीरमा भएको काँढो के थियो ? ख्रीष्टियानहरूले शपथ खान मिल्छ वा मिल्दैन ? घिनलाग्दा पापहरू गरेका लोत कसरी ‘धार्मिक’ हुन सक्छन् ? यस पुस्तकमा तपाईंले यीलगायत बाइबलका १५५ ओटा कठिनाइ तथा विरोधाभासको सरल व्याख्या पाउनुहुन्छ । बाइबल अध्ययन गर्नुहुँदा तपाईं यस्ता कठिनाइहरूसित जम्काभेट गर्नुभएको छ भने यो तपाईंको लागि निकै उपयोगी सामग्री हुन सक्छ ।

पुस्तकको नामबाटै प्रस्ट छ कि यो सभ्यता निर्माणमा ख्रीष्टियान योगदानबारे लिखित रचना हो । ख्रीष्टियान शिक्षाको नतिजास्वरूप मानव इतिहासमा अभ्यास गरिएका मनग्गे कुरीतिहरू मात्र निर्मूलन भएनन् तर सूरीतिहरू पनि स्थापना भए । धेरै समाज रूपान्तरित भएका छन् जसका लागि ख्रीष्टियान नायकहरू प्रशंसाका पात्र हुन् । पुस्तकमा भएका ५२ ओटा अध्याय चार भागमा विभाजित छन् । प्रत्येक भागमा १३/१३ ओटा अध्याय पाउनुहुने छ ।

पहिलो भाग कुरीतिहरूको उन्मूलनसित सम्बन्धित छ । ख्रीष्टियान शिक्षाको नतिजास्वरूप सतीप्रथा, दासप्रथा, जातीयप्रथा, देवदासीप्रथा, नरबलिप्रथाजस्ता अमानवीय चलनहरू मात्र हटेर गएनन् तर धेरै देशमा बालविवाह र बहुविवाहलाई पनि कानुनी रूपमा निषेध गरिएको छ । ख्रीष्टियानहरूको प्रभावसँगै प्राचीन ग्रिक-रोमी संसारमा अभ्यास गरिने शिशु-हत्या र शिशु-त्यागजस्ता दुष्कर्महरू पनि इतिहास बनेर गए । हरेक मान्छे मूल्यवान् छ भन्नेजस्ता बाइबलीय धारणाले गर्दा मान्छेको मासु खाने अभ्यास अर्थात् नरभक्षण निर्मूलन गरियो । दक्षिण अफ्रिकामा रङ्गभेद उन्मूलनमा मण्डलीको भूमिका उल्लेखनीय रह्यो । चीनमा बालिकाहरूको खुट्टा बाँध्ने पीडादायी चलनको उन्मूलनको लागि ख्रीष्टियान मिसनरीहरू प्रशंसाका पात्र हुन् । प्राचीन रोममा खेलको नाउँमा मान्छे मार्ने अभ्यासमा ख्रीष्टियानहरूको प्रभावसँगै पूणर्विराम लागेको थियो ।

दोस्रो भागमा सुरीतिहरूको स्थापनाबारे चर्चा गरिएको छ । अमानवीय प्रथाहरू मात्र हटेर गएका छैनन् तर मानवीय प्रथाहरू स्थापना पनि भएका छन् । शिक्षा, स्वास्थ्य, विज्ञान, कानुन, मानव अधिकारजस्ता सुरीतिहरूको स्थापना र उन्नतिका लागि ख्रीष्टियान अगुवाहरूले खेलेका भूमिका सर्वदा तारिफयोग्य छ । पाश्चात्य जगत्‌मा नारीहरूले पाएका स्वतन्त्रताबाट पूर्वीय जगत्‌का नारीहरूले पाठ सिक्दै छन् । विश्वका अधिकांश देशमा लोकतन्त्रको उदय र विकासमा बाइबलीय प्रभाव छर्लङ्ग छ । परोपकार ख्रीष्टियान जगत्‌ले संसारलाई दिएको अर्को अनमोल उपहार हो । कला, साहित्य र सङ्गीतको दुनियाँमा ख्रीष्टियान योगदान अभूतपूर्व छ । श्रमलाई सुकर्मको रूपमा स्थापित गर्ने ख्रीष्टियान नीतिशास्त्र संसारको अर्थशास्त्रमा महत्त्वपूर्ण हिस्सा बनेको छ । संसारमा सबैभन्दा व्यापक रूपमा प्रयोगमा आएको ग्रेगोरी पात्रो येशूको जन्मको प्रभावमा रचित पात्रो हो ।

तेस्रो भागले समाजहरूको रूपान्तरणबारे सम्बोधन गर्छ । यसमा महादेश, देश, जातिहरू पहिला कस्ता थिए र येशूको सुसमाचारले प्रवेश पाएसँगै कस्ता भए भनी उल्लेख गरिएको छ । विज्ञान, प्रविधि, चिकित्सा, कला, साहित्य, सङ्गीत, रानजीति, दर्शनशास्त्र, नीतिशास्त्रसाथै व्यवसायजस्ता मनग्गे क्षेत्रमा युरोपेली ख्रीष्टियानहरूको योगदान उल्लेखनीय रहेको छ र संसार युरोपेली ख्रीष्टियान शिक्षाप्रति सधैँ ऋणी छ । अमेरिका ख्रीष्टियान मूल्य-मान्यतामा स्थापित मुलुक हो । बेलायती मूल्य-मान्यताहरू ख्रीष्टियान मूल्य-मान्यताहरू हुन् र ख्रिस्टियमतको प्रभावले नै बेलायतलाई पृथ्वीकै एक सर्वाधिक सहिष्णु र सफल देश बनायो । दक्षिण कोरियाको नाटकीय आर्थिक वृद्धिमा ख्रिस्टियमतको महत्त्वपूर्ण भूमिका रहेको छ भनी कोरियालीहरू विश्वास गर्छन् । विविध भाषा र संस्कृतिले भरिपूर्ण अस्ट्रेलियामा अस्पताल, स्कुल, विश्वविद्यालय, मण्डली, जेष्ठ नागरिक सेवा, मानव कल्याण सङ्घ-संस्था, राजनीति, चाडपर्व, विविध समाजहरूको स्थापनामा ख्रीष्टियान योगदान छर्लङ्ग छ । प्राचीन समयमा जुन रोमले २५० वर्षसम्म मण्डलीको खेदो सतावट गरेको थियो आज त्यहीँ नै संसारकै सर्वाधिक ठुलो मण्डली खडा छ । बहुईश्वरवादबाट परिवर्तित ग्रिस यसको अद्वितीय सांस्कृतिक सम्पदा, विशाल पर्यटन उद्योग, पानी जहाजको लागि प्रमुख क्षेत्रसाथै भूगोलको दृष्टिले महत्त्वपूर्ण रणनीतिक स्थानमा छ । सुसमाचारको शक्तिको नतिजास्वरूप फिजीवासीहरू मान्छेको मासु खाने जङ्गली जातिबाट मान्छेको सेवा गर्ने सभ्य जातिमा रूपान्तरित भए । ख्रीष्टियान मिसनरीहरूको योगदानसाथै बलिदानको परिणामस्वरूप आज पपुवा न्युगिनीका बासिन्दाहरू सभ्यताको खुड्किलो चढ्दै छन् । सुसमाचारले बर्बर मानिसहरूलाई पनि परिवर्तन गरी सभ्यताको मार्गमा डोर्‍याउन सक्छ भन्नाका लागि भानुआटु अर्को उत्कृष्ट उदाहरण हो । सूर्य, चन्द्रमाजस्ता विविध थोकहरूलाई पुज्ने इक्वेडरका किचा जातिमा भएको सुसमाचारको प्रभावलाई आधुनिक समयको आश्चर्यकर्म नै मानिएको छ । मान्छेको सिकार गर्ने क्रूर नागाहरूको भूमि सुसमाचारको ज्योतिद्वारा झिलिमिलि भएको छ । लुटमारको लागि कहलिएका भाइकिङ्गहरूको परिवर्तन सम्भवतः प्रभु येशू ख्रीष्टको सुसमाचारको शक्तिको सर्वोत्तम नमुना हो ।

भाग ४ मा तपाईंले प्रभावशाली ख्रीष्टियानहरूको बारेमा पढ्न पाउनुहुन्छ । यस पाठमा प्रथम ख्रीष्टियान सम्राट् कन्स्टेन्टाइन महान्‌को बारेमा मात्र उल्लेख भएको छैन तर दोस्रो सहस्राब्दीकै सर्वाधिक प्रभावशाली व्यक्ति योहान्नेस गुटेनबर्गको बारेमा पनि उल्लेख गरिएको छ जो छापाखानाका आविष्कारक हुन् । गुरुत्वाकर्षण नियमका आविष्कारक न्युटन एकातिर वैज्ञानिक जगत्‌का महान् मानिस थिए भने अर्कोतिर परमेश्वरमाथि विश्वास गर्ने महान् मानिस । नयाँ संसार पत्ता लगाउने क्रिस्टोफर कोलम्बस दृढ सङ्कल्प र साहसका उदाहरण हुन् जसले बाइबल धर्मशास्त्रबाट सामुद्रिक यात्रा गर्ने प्रेरणा पाए । विमानजस्तो अनुपम उपहार दिने राइट दाजुभाइ बिशपका छोराहरू थिए । मार्टिन लुथरको सुधारले मध्यकालको अन्त्य गरी आधुनिक कालको आरम्भ गरायो भन्दा फरक पर्दैन । यस ग्रहमा सबैभन्दा बढी मानिसलाई सुसमाचार सुनाउने प्रचारकहरूमा महानायक बिल्ली ग्राहम, गरिबहरूका मसिह मदर टेरेसा, सर्वश्रेष्ठ नाटककार विलियम सेक्सपिएर सबै नै बाइबलबाट प्रभावित थिए । आधुनिक दर्शनशास्त्रका पिता रेने डेकार्ट आफ्नो जीवनकालभरि नै भक्त ख्रीष्टियान रहे । नोबेल शान्ति पुरस्कार विजेता तथा सामाजिक अभियन्ता मार्टिन लुथर किङ्ग जुनिएर पास्टर थिए जसले अश्वेतहरूको मताधिकार, रङ्गभेदको अन्त्य र श्रमाधिकारसाथै अन्य आधारभूत हकको लागि अगुवाइ गरे । आधुनिक मिसनका पिता विलियम केरी आधुनिक भारतीय इतिहासमा एक केन्द्रित पात्र हुन् भने नास्तिकबाट ख्रीष्टियान बनेका महानतम रक्षाशास्त्री सी.एस. लुइस ख्रीष्टियानसाथै गैरख्रिस्टियान जगत्‌का अनमोल स्रष्टा हुन् ।

यो पुस्तक बाइबलसित सम्बन्धित पुरातात्त्विक खोजहरूको बारेमा हो । पुरातत्त्वविद्या भनेको “प्राचीन समयमा निर्माण भएका वा उपयोग गरिएका ऐतिहासिक तथा महत्त्वपूर्ण वस्तुको अध्ययन गर्ने विद्या” हो । पुरातत्त्वविद्यालाई अङ्ग्रेजीमा archaeology भनिन्छ । यो दुई ओटा ग्रिक शब्द archaios र logos मिलेर बनेको छ । पहिलो शब्दको अर्थ ‘प्राचीन’ वा ‘पुरानो’ हुन्छ भने दोस्रोको अर्थ ‘वचन’ वा ‘अध्ययन’ हुन्छ । तसर्थ पुरातत्त्वविद्याको अक्षरशः परिभाषा हुन्छ, “प्राचीनकालबारे गरिने अध्ययन ।” पुरातत्त्वविद्याले प्राचीन समयका शिल्पकृति, वास्तुकला, सिक्का, स्मारक, प्रलेखसाथै अन्य वस्तुहरू पत्ता लगाई ती वस्तुको अध्ययन गर्ने काम गर्दछ । विशेषज्ञहरूले ती पत्ता लगाइएका थोकहरूको अध्ययन गरी बाइबलका खण्डहरूको आर्थिक, सांस्कृतिक, सामाजिक र राजनीतिक पृष्ठभूमिहरूबारे हाम्रो ज्ञानलाई वृद्धि गराउन मदत पुर्‍याएका छन् । पुरातात्त्विक खोजहरूले बाइबलका घटना, इतिहास, चालचलन, ठाउँ, व्यक्तिहरूको बारेमा थप प्रकाश छर्ने काम मात्रै गरेका छैनन् तर कतिपय अवस्थामा प्रमाणितसमेत गरिदिएका छन् ।

उन्नाइसौँ शताब्दीमा बाइबल आलोचकहरू जायज कारणहरूसहित भन्ने गर्थे कि सर्गान अस्तित्वमा थिएनन्; हित्ती भनिने जाति अस्तित्वमा थिएन र थियो भने पनि महत्त्वहीन थियो; पूर्वजहरूका विवरणहरू पछिल्लो समयका उत्पादन हुन्; पवित्र वासस्थानको सात हाँगा भएको सामदान पछिल्लो समयको धारणा हो; दाऊदीय राज्य बाइबलले अङ्कित गरे जत्तिकै बृहत् थिएन; बेलसजर अस्तित्वमा थिएनन् । साथै, अन्य थुप्रै त्रुटि र असम्भाव्यता बाइबलका विवरणमा थिए भनी आलोचकहरू सोच्ने गर्थे । तर तिनीहरूको सोचको विपरीत, पुरातात्त्विक खोजले देखायो कि सर्गान अस्तित्वमा रहेछन्; हित्तीहरू अस्तित्वमा मात्र रहेनछन् तर तिनीहरू महत्त्वपूर्ण जाति पनि रहेछन्; पूर्वजहरूका विवरणहरू बाइबलले अङ्कित गरेको समयसित मेल खाँदोरहेछ; सात हाँगा भएको सामदान मोशाको समयमा अस्तित्वमा आइसकेको रहेछ; बाइबलले वर्णन गरेजस्तै दाऊदको राज्य बृहत् रहेछ; बेलसजर अस्तित्वमा रहेछन् र तिनले बेबिलोनमाथि शासन गरेका रहेछन् । साथै, आलोचकहरूले त्रुटि भनी सोचेका ती कथित त्रुटिहरू यथार्थतः त्रुटि रहेनछन् ।

बाइबलसित सम्बन्धित सयौँ पुरातात्त्विक खोजहरू फेला पारिएका छन् जसमध्ये यस पुस्तकमा १०१ ओटा त्यस्ता खोजहरूको बारेमा वर्णन गरिएको छ । ती खोज ६ ओटा भागमा विभाजित छन् । पहिलो भागमा १६ ओटा खोजको विषयमा लेखिएका छन् जुन पञ्चग्रन्थ अर्थात् उत्पत्तिदेखि व्यवस्थासम्मका पुस्तकहरूसित सम्बन्धित छन् । दोस्रो भागमा तपाईंले ४१ ओटा खोज पाउनुहुने छ जसले ऐतिहासिक पुस्तकहरू (यहोशू-एस्तर) बारे हाम्रो ज्ञानलाई वृद्धि गरिदिएका छन् । तेस्रो भागले ठुलासाना अगमवक्ताका पुस्तकहरू (यशैया-मलाकी) बारे थप प्रकाश छर्ने काम गर्छन् र यहाँ १४ ओटा खोजको बारेमा उल्लेख गरिएको छ । चौथो भाग चार ओटा सुसमाचारीय पुस्तकहरूसित सम्बन्धित छ र यहाँ तपाईंले येशूको जीवनीसित जोडिएका २० ओटा खोजहरूबारे पढ्न पाउनुहुने छ । पाँचौँ भागमा ७ ओटा खोजहरूको बारेमा चर्चा गरिएका छन् जुन प्रेरितको पुस्तकसित सम्बन्धित छन् । छैटौँ अर्थात् अन्तिम भागमा बाँकी ३ ओटा खोजहरूबारे बयान गरिएको छ ।

लेखक कमल अधिकारीको यस बार्‍हौँ पुस्तकमा तेर्‍हौँ शताब्दीदेखि एक्काइसौँ शताब्दीसम्मका १०१ ओटा वैज्ञानिक खोज समावेश गरिएका छन् । यी खोजका लागि १०९ जना आविष्कारकले योगदान दिएका छन् । ती योगदानकर्ताहरू विभिन्न धर्मका थिए । ६६% आविष्कारकसहित ख्रिस्टियन पहिलो स्थानमा छ भने १३% आविष्कारकको धर्म अनिश्चित छ । यहुदी ६% छ भने नास्तिक ५% । परमेश्वर अस्तित्वमा हुनुहुन्छ वा हुनुहुन्न भनी निश्चित छैन भन्ने विचारधारा अङ्गाल्ने व्यक्तिलाई अज्ञेयवादी भनिन्छ र यी खोजमा अज्ञेयवादीहरूको ४% योगदान रहेको छ । परमेश्वरले सम्पूर्ण विश्वको सृष्टि गर्नुभयो तर यसमा उहाँको कुनै हस्तक्षेप हुँदैन भन्ने विचारधारा अङ्गाल्ने व्यक्तिलाई देववादी (डिइस्ट) भनिन्छ र देववादीहरूको ४% योगदान रहेको छ । बौद्धमार्गी र मुस्लिमको १/१ प्रतिशत योगदान देख्न सक्नुहुन्छ ।

१४४० तिर छापाखानाको आविष्कार गर्ने वैज्ञानिक योहान्नेस गुटेनबर्ग मात्र ख्रिस्टियन थिएनन् तर १५२० मा सूर्य केन्द्रित सिद्धान्त पत्ता लगाउने वैज्ञानिक निकोलस कोपर्निकस पनि ख्रिस्टियन नै थिए । १५८० मा जलचक्रको आविष्कार गर्ने खोजकर्ता बर्नार्ड पालिसी मात्र येशूका अनुयायी थिएनन् तर १६०९ मा ग्रहहरूको चाल पत्ता लगाउने जोहानेस केप्लर पनि येशूका चेला थिए । टेलिस्कोपका आविष्कारक ग्यालिलियो ग्यालिली, रक्तसञ्चार प्रणालीका आविष्कारक विलियम हार्बे, कोषका आविष्कारक रोबर्ट हुक, गुरुत्वाकर्षणका आविष्कारक सर आइज्याक न्युटन जस्ता इतिहासमा आफ्ना नाम अमर राख्ने वैज्ञानिकहरू सबै नै ख्रिस्टियन थिए ।

१७७४ मा अक्सिजन पत्ता लगाउने वैज्ञानिक जोसेफ प्रिस्टली, १७८३ मा प्यारासुटको आविष्कार गर्ने लुइस सेबास्टियन, १७९६ मा बिफरको खोप पत्ता लगाउने वैज्ञानिक एडवार्ड जेनर र १८०० मा ब्याट्रीका आविष्कार गरेका अलेस्यान्ड्रो भोल्टा सबै नै प्रभु येशूका अनुयायी थिए ।

यसका अतिरिक्त, क्यामरा, स्टेथिस्कोप, कम्प्युटर, जेनरेटर, साइकल, टाइपराइटर, एअर ब्रेक, मोटरसाइकल, एक्सरे, रेडियो, इसिजी, डिजेल इन्जिल, रगतको किसिम, एसी, विमान, इन्सुलिन जस्ता खोजहरू पत्ता लगाई संसारलाई सभ्यताको यस उचाइसम्म पुर्‍याउन योगदान दिनेहरू सबै नै ख्रिस्टियन थिए ।

पुस्तकमा कुन खोज कहिले, कसले र कहाँ पत्ता लगाइएको थियो भनेर प्रस्ट पारिएको छ । यी खोजको परिणामस्वरूप मानव सभ्यता यहाँसम्म आइपुग्न सफल भएको हो र हरेक देशको हरेक समाज यी खोजहरूबाट लाभान्वित भएको छ ।

बाइबलअनुसार परमेश्वरले यो सम्पूर्ण विश्व सृष्टि गर्नुभयो । विशेष प्रकाश र सामान्य प्रकाश दुईवटा तरिकाले उहाँलाई जान्न सकिन्छ । विशेष प्रकाश भनेको बाइबल हो भने सामान्य प्रकाश भनेको प्रकृति हो । प्राकृतिक ईश्वरशास्त्रमा प्रकृतिको अवलोकनको आधारमा परमेश्वरको बारेमा अध्ययन गरिन्छ । यस पुस्तकमा प्रकृति अर्थात् सामान्य प्रकाशको बारेमा अध्ययन गरिएको छ ।

दाउदका अनुसार प्रकृतिले परमेश्वरको महिमाको घोषणा गर्छ, “आकाशले परमेश्वरका महिमाको वणर्न गर्छ र तारामण्डलले उहाँका हातको सिपको घोषणा गर्छ” (भजन १९:१) । पावलले बताएका छन् कि प्रकृतिको अध्ययनबाट परमेश्वरका अदृश्य गुणहरू थाहा पाउन सकिन्छ, “किनकि उहाँको अदृश्य गुण अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्ङै देखिएको छ” (रोमी १:२०) ।

येशू को हुनुहुन्छ ? कमल अधिकारीको चौथो कृति हो । यो मूलतः येशू ख्रीष्‍टको बारेमा लेखिएको पुस्तक हो । यो पुस्तकले येशू ख्रीष्‍टको ऐतिहासिक तस्बिर अर्थात् सुसमाचारीय तस्बिरको पक्षमा वैज्ञानिक, ऐतिहासिक, तार्किक र पुरातात्त्विक दृष्‍टिकोणबाट वकालत गरेको छ ।

यो पुस्तकले खास गरी ऐतिहासिक ख्रीष्‍टियान विश्‍वासको पक्षमा गहकिला साक्षीसाथै तर्कहरू पेस गर्दछ । ख्रीष्‍टियान विश्‍वास कुनै अन्धविश्‍वास नभई बौद्धिक विश्‍वास हो भन्‍नाका लागि विभिन्‍न प्रमाणहरू जुटाइएका छन् । २३ ओटा अध्यायमा विभाजित यस किताबले बाइबल अद्वितीय छ; येशूले आफू जे हुँ भनी दाबी गर्नुभयो उहाँ त्यही हुनुहुन्छ र परमेश्‍वरको अस्तित्वको लागि विभिन्‍न वैज्ञानिक साक्षीहरू उपलब्ध गराउने काम गर्दछ ।