यस कृतिमा जम्माजम्मी ५ ओटा भाग छन् । संसारका सबै धर्मशास्त्र र पुस्तकहरूभन्दा बाइबल कसरी फरक छ भनी पहिलो भागमा प्रस्ट पारिएको छ । यो एउटा अद्वितीय पुस्तक हो । यसका ६ ओटामध्ये पहिलो पाठले अनेकताका बाबजुद पनि बाइबलमा एकत्व पाइन्छ भनी सम्बोधन गर्छ भने प्रचार-प्रसारको दुनियाँमा बाइबलले इतिहास रचेको छ भनी दोस्रो पाठमा चर्चा गरिएको छ । तेस्रो पाठ बाइबलको अनुवादसित सम्बन्धित छ जहाँ मानव इतिहासमा बाइबल सबैभन्दा बेसी अनुवाद भएको पुस्तक हो भन्ने तथ्याङ्क प्रस्तुत छ भने चौथो पाठमा मनग्गे सतावटको बाबजुद पनि बाइबल अविनाशी पुस्तक हो भनी छर्लङ्ग पारिएको छ । पाठ पाँचमा बाइबलको ईश्वरीय प्रेरणाको एउटा मजबुतको साक्षीको रूपमा पूरा भएका भविष्यवाणीहरूलाई प्रस्तुत गरिएको छ भने पाठ छमा बाइबललाई अन्य धर्मग्रन्थहरूसित तुलना गरिएको छ ।

बाइबल वैज्ञानिक पुस्तक हो भनी भाग दुईमा दाबी गरिएको छ । हामीलाई थाहा छ कि बाइबल कुनै वैज्ञानिक पाठ्यपुस्तक भने होइन । तरै पनि यसले विज्ञानसित सम्बन्धित विषयहरूबारे उल्लेख गर्दा यो शानदार ढङ्गमा साँचो साबित भएको छ । बाइबल प्राचीन धार्मिक ग्रन्थ भए तापनि आधुनिक औषधी विज्ञानले प्रमाणित गरेका तथ्यहरू यसमा पाइन्छन् भनी पाठ सातमा पढ्न पाइन्छ । पाठ आठले खगोल विज्ञानबारे सम्बोधन गर्छ जसमा कतिपय खगोल विज्ञानसित सम्बन्धित तथ्यहरू बाइबलमा हजारौँ वर्ष पहिले नै लेखिएका थिए भनी जिकिर गरिएको छ । पाठ नौमा बाइबलमाथि विश्वास गर्ने वैज्ञानिकहरूको सङ्क्षिप्त जीवनी पाउनुहुन्छ जसले बाइबल सामान्य पुस्तक मात्र नभई वैज्ञानिहरूले पनि विश्वास गर्ने उच्च कोटीको ग्रन्थ रहेछ भनी पाठकलाई विश्वस्त पार्न खोज्छ ।

भाग तीनले बाइबललाई ऐतिहासिक रचनाको रूपमा उभ्याउँदछ । बाइबल एउटा यस्तो ग्रन्थ हो जसमा भूगोलसाथै व्यक्तिका नाउँहरू र विविध संस्कृतिको बारेमा उल्लेख गरिएको छ । आधुनिक पुरातत्त्वविद्याले पुरानो र नयाँ करारमा उल्लिखित कैयौँ ऐतिहासिक सन्दर्भहरूको एकपछि अर्को गर्दै पुष्टि गरिरहेको छ भनी पाठहरू दश र एघारमा प्रस्ट पारिएको छ । पाठहरू बार्‌ह र तेर्‌ह बाइबलको विश्वसनियतासित सम्बन्धित छन् । अन्य ऐतिहासिक कृतिहरूको जस्तै हामीसित बाइबलको पनि अटोग्राफ अर्थात् मूल पाण्डुलिपि छैन । हामीसँग बाइबलका मूल लेखकहरूद्वारा लिखित दस्ताबेजहरूका प्रतिलिपि मात्र छन् । तब स्वाभाविक प्रश्नको उदय हुन्छः के हामीले एक्काइसौँ शताब्दीमा पढ्ने बाइबल सही प्रकारले प्रतिलिपि हुँदै हाम्रो हातमा आइपुगेको छ त ? पाठहरू बार्‌ह र तेर्‌हले तपाईंलाई सकारात्मक उत्तर दिन्छन् । बाइबलका लेखकहरूले जस्तो लेखेका थिए सारमा त्यस्तै वचन हामीसम्म आइपुगेको छ भनी अध्ययनले देखाएको छ भनी यी दुवै पाठमा छर्लङ्ग पारिएको छ ।

भाग चार बाइबलको प्रभावसित सम्बन्धित छ । यसमा जम्माजम्मी आठवटा पाठ छन् । बाइबल संसारमा सर्वाधिक प्रभावशाली पुस्तक हो भन्ने दाबीमा थोरैले मात्र बादविवाद गर्लान् । साहित्य, सङ्गीत, सभ्यता, आधुनिक विज्ञान, राजनीति, मानव अधिकार, परोपकारी अभ्यास, नैतिक शिक्षामा बाइबलको उल्लेखनीय प्रभाव देख्न पाइन्छ भनी यस भागमा चर्चा गरिएको छ ।

बाइबल परिवर्नत गर्ने पुस्तक हो भनी भाग पाँचले प्रस्ट पार्छ । बाइबलले मानिसहरूका जीवन मात्र परिवर्तन गरेको छैन तर समाजहरू पनि रूपान्तरण गरेको छ र बाइबलकै मूल्य-मान्यतामा आधारित रहेर मानव इतिहासमा अभ्यास गरिँदै आएका कुरीतिहरू पनि उन्मूलन भए भनी यस भागमा उल्लेख गरिएको छ ।

सारमा यो बाइबलको बारेमा लिखित कृति हो । यसमा २४ जना लेखकले योगदान पुर्‍याएका छन् । फरक-फरक पृष्ठभूमि र भूगोलका लेखकहरूद्वारा लेखिएको भए तापनि सबै पाठ एउटै ढाँचामा छन् । प्रत्येक पाठमा तपाईंले शीर्षक, परिचय, मुख्य भाग र निष्कर्ष पाउनुहुने छ । हरेक पाठको मुख्य भागलाई ७ ओटा बुँदामा विभाजन गरिएको छ ।

“तर ख्रीष्टलाई प्रभु मानेर तिम्रो ह्रदयमा उहाँको श्रद्धा गर । तिमीहरूमा भएका आशाको विषय कसैले सोधपूछ गरे त्यसको जवाफ दिन सधैँ तत्पर बस, तर त्यो काम नम्रता र श्रद्धासाथ गर” (१ पत्रुस ३:१५) । आफ्नो विश्वासको पक्षमा वकालत गर्न पत्रुस हरेक विश्वासीलाई आज्ञा दिन्छन् । त्यो काम गर्ने व्यक्ति रक्षाशास्त्री कहलाइन्छ । वास्तवमा ख्रीष्टियान विश्वासको पक्षमा बौद्धिक रूपमा वकालत गर्ने व्यक्ति नै रक्षाशास्त्री हो । येशूको समयदेखि वर्तमान समयसम्म सयौँ मानिसले बौद्धिक रूपमा आफ्नो ख्रीष्टियान विश्वासको पक्षमा वकालत गर्दै आएका छन् । यो पुस्तक तिनै रक्षाशास्त्रीहरूको जीवनी सङ्ग्रह हो ।

पुस्तकलाई कालानुक्रमअनुसार ७ भागमा विभाजन गरिएको छ । रक्षाशास्त्रीहरूको जीवनी सङ्ग्रह लेख्दा यसरी नै विभाजन गर्नुपर्छ भन्ने छैन तर यस विभाजनलाई तर्कसङ्त मान्न सकिन्छ ।

पहिलो भागमा प्रेरितीय कालका रक्षाशास्त्रीहरूको बारेमा चर्चा गरिएको छ । यहाँ तपाईंले येशू, पावल, पत्रुस, यूहन्ना तथा लूकालाई रक्षाशास्त्रीको रूपमा देख्नुहुन्छ । येशू मानव जातिका सबैभन्दा महान् चिन्तक हुनुहुन्छ र उहाँकै नमुनालाई पछ्याउँदै नयाँ करारका लेखकहरूले पनि ख्रीष्टियान विश्वासको पक्षमा वकालत गरेका छन् ।

दोस्रो भाग प्राचीन कालका रक्षाशास्त्रीहरूमा समर्पित छ । यहाँ दोस्रो शताब्दीका एथेन्सका अरिस्तिदेसदेखि सातौँ शताब्दीका दमस्कसका जोनको बारेमा अभिलिखित गरिएको छ । यस कालका अगिल्ला शताब्दीहरूमा मण्डली रोमी साम्राज्यको सतावटको निसानामा पर्दा ख्रीष्टियान चिन्तकहरूले ती सतावटको सामना गरी ख्रीष्टियानहरूको विरुद्धमा लगाइएका झुटा आरोपहरूको खण्डन गरे । आफ्नो विश्वासको निम्ति रक्षाशास्त्रीहरूको बौद्धिक प्रस्तुतीकरणसाथै ख्रीष्टियानहरूमाथिको निराधार आरोपको खण्डनले अन्ततः चौथो शताब्दीमा रोमी साम्राज्य ढल्न पुग्यो र प्रथम ख्रीष्टियान सम्राट् कन्स्टेन्टाइन महान्‌को सत्तारोहणसँगै युरोप ख्रीष्टियान मूल्य-मान्यतामा बामे सर्दै अगाडि बढ्यो ।

तेस्रो भागमा मध्य कालका रक्षाशास्त्रीहरूको बारेमा उल्लेख गरिएको छ । यहाँ एडेसाका बिशप थियोडोर अबु कुराहदेखि स्कटल्यान्डका ईश्वरशास्त्री डन्स स्कटसको बारेमा पढ्न पाइन्छ । यहाँ नवौँदेखि चौधौँ शताब्दीसम्मका रक्षाशास्त्रीहरू समेटिएका छन् । यस कालका सर्वाधिक मननयोग्य रक्षाशास्त्रीचाहिँ थोमास अक्विनास हुन् । उनलाई ‘मध्यकालका सबैभन्दा प्रभावशाली विचारक’ र ‘सर्वश्रेष्ठ मध्यकालीन दार्शनिक-धर्मशास्त्री’ भनेर चिनिन्छ ।

चौथो भागमा पुनर्जागरण कालका केही रक्षाशास्त्रीको बारेमा चर्चा गरिएको छ । पन्ध्रौँ र सोर्‌हौँ शताब्दीका ख्रीष्टियान चिन्तकहरू यस समयावधिमा राखिएका छन् । यहाँ तपाईंले अखामका विलियम, रमन लुल र ग्रेगोरी पलामस गरी तीन जनाको जीवनी पढ्न पाउनुहुन्छ ।

पाँचौँ भागमा प्रबोधन कालका रक्षाशास्त्रीहरूको बारेमा सम्बोधन गरिएको छ । ह्युगो ग्रोसिएसदेखि विलियम पेलीसम्मका जीवन अभिलिखित गरिएको यस भागले सत्रौँ र अठारौँ शताब्दीका रक्षाशास्त्रीहरूलाई समेटेको छ ।

छैटौँ भाग आधुनिक कालका रक्षाशास्त्रीहरूसित सम्बन्धित छ र यहाँ उन्नाइसौँ र बिसौँ शताब्दीका विश्वासका रक्षकहरूबारे चर्चा परिचर्चा गरिएको छ । यहाँ जोन हेन्री न्युम्यानदेखि नबिल कुरेसीसम्मका जीवनी पढ्न पाइन्छ ।

अन्तिम अर्थात् सातौँ भागचाहिँ वर्तमान समयका रक्षाशास्त्रीहरूप्रति समर्पित छ । बिसौँ शताब्दीमा जन्मेका यी रक्षाशास्त्रीहरू जीवित रक्षकहरू हुन् जसले विविध माध्यमद्वारा ख्रीष्टियान आस्थाको पक्षमा बोल्दै छन् र लेख्दै छन् ।

सातवटै प्रदेशको प्रतिनिधित्व हुने गरी २५ जना लेखकद्वारा तयार पारिएको यो पुस्तक नेपाली पाठकहरूका निम्ति लाभदायक हुने छ भन्ने अपेक्षा गरिएको छ । हरेक लेखकसाथै सबै योगदानकर्तालाई मुरीमुरी धन्यवाद छ । हाम्रा परमेश्वरलाई सदासर्वदा महिमा होस्, “उही एकमात्र परमेश्वर, हाम्रा मुक्तिदातालाई येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा महिमा, प्रभुत्व, पराक्रम र अधिकार युग-युग पहिलेदेखि आज र सदासर्वदा भइरहोस् । आमेन” (यहूदा २४) ।

पुस्तकको नामैबाट प्रस्ट छ कि यो कृति पास्टर फूल बहादुरको जीवनी हो । धादिङमा जन्मेर नवलपुरमा उल्लेखनीय सेवा पुर्‍याएका उनको यस जीवन कहानीमा प्रेरणादायीसाथै सङ्घर्षका कथाहरू पढ्न पाउनुहुन्छ ।

पुस्तकमा अभिलिखित अधिकांश जानकारी फूल बहादुरबाटै आएका हुन् । जीवनीकारले केही दिन उनीसितै बिताई सयौँ प्रश्न सोधेर सत्यतथ्य केलाई तिनको चिरफार गरेका छन् । यसका अतिरिक्त, पुस्तक निर्माणमा नागरिकता, राष्ट्रिय परिचयपत्र, प्रमाणपत्रसाथै सम्मानपत्रजस्ता लिखित कागजातहरू पनि उल्लेखनीय स्रोतहरू बनेका छन् । जाति तथा भूगोलको परिचयका अधिकांश जानकारी भने अनलाइन विश्वकोश विकिपिडियाबाट लिइएका हुन् ।

फूल बहादुर तामाङ पास्टर, सुसमाचार प्रचारक तथा समाजसेवी हुन् । एउटा सामान्य मानिसलाई पनि परमेश्वरले कसरी असाधारण रूपमा चलाउनुहुँदोरहेछ भन्नाका लागि फूल बहादुर ज्वलन्त उदाहरण हुन् ।

धादिङको दुर्गम गाउँ झार्लाङमा जन्मेका उनले नवलपुरलाई आफ्नो सेवास्थल बनाए । बिमारी छोरोको चङ्गाइको कारण येशूलाई मुक्तिदाताको रूपमा स्वीकार गरेका उनले भारतीय सेनामा जागिर खाए । अवकाशपश्चात् उनले नवलपुरमा परमेश्वरको राज्य बिस्तार गर्ने काम गरे । जसरी परमेश्वरले अब्राहामलाई ऊरबाट कनान देशको लागि डाक्नुभएको थियो, त्यसै गरी परमेश्वरले फूल बहादुरलाई धादिङबाट नवलपुरका लागि डाक्नुभएको थियो भनी उनी विश्वास गर्छन् ।

पञ्चायतकाल छँदा नै २०४२ सालमा येशूलाई ग्रहण गरी सोही साल नवलपुरको गोछडामा मण्डली स्थापना गरेका फूल बहादुर परमेश्वरको राज्य बिस्तारको लागि अटुट रूपमा खट्ने सेवक हुन् । उनले जिल्लाका विभिन्न ठाउँमा मण्डलीहरू स्थापना गर्नुका अतिरिक्त मण्डली भवनहरू बनाउनसमेत पहल गरे ।

फूल बहादुर सुसमाचारका लागि जोसिला सेवक हुन् । चाहे घाम होस् या पानी, कुनै कठिनाइको वास्ता नगरी उनले सुसमाचारका खातिर विभिन्न ठाउँमा यात्रा गरे । कैयौँ मानिसलाई प्रभुमा जिती सयौँलाई बप्तिस्मा दिएका उनी सम्झनलायक पात्र हुन् र नेपाली ख्रीष्टियान जगत्‌मा उनको योगदान सराहनीय छ ।

पास्टरीय सेवा गर्नुका अतिरिक्त फूल बहादुरले समाजसेवा पनि गरेका छन् । स्कुलमा चन्दा दिएर हुन्छ कि छात्रवृत्ति उपलब्ध गराएर हुन्छ, अपाङ्गता भएकाहरूलाई सहयोग गरेर हुन्छ कि चर्चमा सिलाई तालिम भित्र्याएर हुन्छ, उनी समाजसेवामा पनि संलग्न भए ।

पास्टर फूल बहादुर नेपाल ख्रीष्टियान जगत्‌का सम्पत्ति हुन् । उनी प्रभुको सेवामा लागिरहने असल सेवक हुन् । सुसमाचार प्रचारका योद्धा उनी मिसनरी हुन् । निस्सन्देह, नेपाली ख्रीष्टियानहरूले उनको योगदानको कदर गर्दछन् । नेपाली मण्डली इतिहासमा ‘विश्वासका हिरोहरू’ को सूचीमा फूल बहादुरले आफ्नो नाउँ लेखाएका छन् ।

यो पुस्तक बाइबलसित सम्बन्धित पुरातात्त्विक खोजहरूको बारेमा हो । पुरातत्त्वविद्या भनेको “प्राचीन समयमा निर्माण भएका वा उपयोग गरिएका ऐतिहासिक तथा महत्त्वपूर्ण वस्तुको अध्ययन गर्ने विद्या” हो । पुरातत्त्वविद्यालाई अङ्ग्रेजीमा archaeology भनिन्छ । यो दुई ओटा ग्रिक शब्द archaios र logos मिलेर बनेको छ । पहिलो शब्दको अर्थ ‘प्राचीन’ वा ‘पुरानो’ हुन्छ भने दोस्रोको अर्थ ‘वचन’ वा ‘अध्ययन’ हुन्छ । तसर्थ पुरातत्त्वविद्याको अक्षरशः परिभाषा हुन्छ, “प्राचीनकालबारे गरिने अध्ययन ।” पुरातत्त्वविद्याले प्राचीन समयका शिल्पकृति, वास्तुकला, सिक्का, स्मारक, प्रलेखसाथै अन्य वस्तुहरू पत्ता लगाई ती वस्तुको अध्ययन गर्ने काम गर्दछ । विशेषज्ञहरूले ती पत्ता लगाइएका थोकहरूको अध्ययन गरी बाइबलका खण्डहरूको आर्थिक, सांस्कृतिक, सामाजिक र राजनीतिक पृष्ठभूमिहरूबारे हाम्रो ज्ञानलाई वृद्धि गराउन मदत पुर्‍याएका छन् । पुरातात्त्विक खोजहरूले बाइबलका घटना, इतिहास, चालचलन, ठाउँ, व्यक्तिहरूको बारेमा थप प्रकाश छर्ने काम मात्रै गरेका छैनन् तर कतिपय अवस्थामा प्रमाणितसमेत गरिदिएका छन् ।

उन्नाइसौँ शताब्दीमा बाइबल आलोचकहरू जायज कारणहरूसहित भन्ने गर्थे कि सर्गान अस्तित्वमा थिएनन्; हित्ती भनिने जाति अस्तित्वमा थिएन र थियो भने पनि महत्त्वहीन थियो; पूर्वजहरूका विवरणहरू पछिल्लो समयका उत्पादन हुन्; पवित्र वासस्थानको सात हाँगा भएको सामदान पछिल्लो समयको धारणा हो; दाऊदीय राज्य बाइबलले अङ्कित गरे जत्तिकै बृहत् थिएन; बेलसजर अस्तित्वमा थिएनन् । साथै, अन्य थुप्रै त्रुटि र असम्भाव्यता बाइबलका विवरणमा थिए भनी आलोचकहरू सोच्ने गर्थे । तर तिनीहरूको सोचको विपरीत, पुरातात्त्विक खोजले देखायो कि सर्गान अस्तित्वमा रहेछन्; हित्तीहरू अस्तित्वमा मात्र रहेनछन् तर तिनीहरू महत्त्वपूर्ण जाति पनि रहेछन्; पूर्वजहरूका विवरणहरू बाइबलले अङ्कित गरेको समयसित मेल खाँदोरहेछ; सात हाँगा भएको सामदान मोशाको समयमा अस्तित्वमा आइसकेको रहेछ; बाइबलले वर्णन गरेजस्तै दाऊदको राज्य बृहत् रहेछ; बेलसजर अस्तित्वमा रहेछन् र तिनले बेबिलोनमाथि शासन गरेका रहेछन् । साथै, आलोचकहरूले त्रुटि भनी सोचेका ती कथित त्रुटिहरू यथार्थतः त्रुटि रहेनछन् ।

बाइबलसित सम्बन्धित सयौँ पुरातात्त्विक खोजहरू फेला पारिएका छन् जसमध्ये यस पुस्तकमा १०१ ओटा त्यस्ता खोजहरूको बारेमा वर्णन गरिएको छ । ती खोज ६ ओटा भागमा विभाजित छन् । पहिलो भागमा १६ ओटा खोजको विषयमा लेखिएका छन् जुन पञ्चग्रन्थ अर्थात् उत्पत्तिदेखि व्यवस्थासम्मका पुस्तकहरूसित सम्बन्धित छन् । दोस्रो भागमा तपाईंले ४१ ओटा खोज पाउनुहुने छ जसले ऐतिहासिक पुस्तकहरू (यहोशू-एस्तर) बारे हाम्रो ज्ञानलाई वृद्धि गरिदिएका छन् । तेस्रो भागले ठुलासाना अगमवक्ताका पुस्तकहरू (यशैया-मलाकी) बारे थप प्रकाश छर्ने काम गर्छन् र यहाँ १४ ओटा खोजको बारेमा उल्लेख गरिएको छ । चौथो भाग चार ओटा सुसमाचारीय पुस्तकहरूसित सम्बन्धित छ र यहाँ तपाईंले येशूको जीवनीसित जोडिएका २० ओटा खोजहरूबारे पढ्न पाउनुहुने छ । पाँचौँ भागमा ७ ओटा खोजहरूको बारेमा चर्चा गरिएका छन् जुन प्रेरितको पुस्तकसित सम्बन्धित छन् । छैटौँ अर्थात् अन्तिम भागमा बाँकी ३ ओटा खोजहरूबारे बयान गरिएको छ ।

यो पुस्तक ख्रीष्टियान वैज्ञानिकहरूको जीवनी हो । पुस्तकमा बार्हौं शताब्दीका वैज्ञानिक रोबर्ट ग्रोसोटेस्टेदेखि लिएर वर्तमान समयसम्म जीवित वैज्ञानिक जोन सी. लेनोक्ससम्म गरी ९० जना ख्रीष्टियान वैज्ञानिकहरूको जीवनी समेटिएको छ ।

ख्रीष्टियान वैज्ञानिकहरूले संसारमा अमूल्य योगदान पुर्‍याएका छन् । समाजशास्त्री रोड्नी स्टार्कका अनुसार विज्ञानको उदयको लागि ख्रीष्टियान ईश्वरशास्त्र अपरिहार्य थियो । मध्यकालीन ख्रीष्टियान ईश्वरशास्त्रबाट आधुनिक विज्ञानको विकास भएको थियो भनी विज्ञानका विख्यात दार्शनिक अल्फ्रेड ह्वाइटहेडले उल्लेख गरेका छन् । भौतिकशास्त्री अर्नेस्ट माकले भनेका छन्, “हरेक पूर्वाग्रहरहित चिन्तकले स्वीकार गर्नैपर्छ कि यन्त्रविज्ञानको मुख्य विकास भएको युग ईश्वरशास्त्रीय अवधारणाले आधिपत्य जमाएको युग थियो ।” युरोपमा वास्तविक विज्ञानको उदय भएको थियो भनी आधुनिक विज्ञानका इतिहासकार, दार्शनिक तथा समाजशास्त्रीहरू सहमत छन् । पाश्चात्य संस्कृतिमा भएको ख्रीष्टियान विश्वासको अद्वितीय योगदानलाई यसको श्रेय जान्छ । ख्रीष्टियान विचारकहरूले विज्ञान सम्भव छ भनेर मात्र विश्वास गरेनन् तर यो हुनुपर्छ भनेर पनि मानिलिए । विज्ञानको इतिहासलाई पूर्वाग्रहरहित दृष्टिकोणबाट हेर्ने हो भने छर्लङ्ग हुन्छ कि आधुनिक विज्ञान ख्रिस्टियमतको आविष्कार हो । आज चाहे हामी मोटरसाइकलमा चढौँ वा उपचारको लागि अस्पतालमा जाऔँ, यसको लागि हामी येशूको शिक्षा र उहाँका अनुयायीहरूप्रति ऋणी छौँ ।

पुस्तकमा जम्माजम्मी ६ ओटा भाग छन् । पहिलो भागमा तपाईंले अठारौँ शताब्दी अगिका ख्रीष्टियान वैज्ञानिकहरूको बारेमा पढ्न पाउनुहुने छ । यहाँ रोबर्ट ग्रोसोटेस्टेदेखि सर आइज्याक न्युटनसम्म गरी जम्मा १० जना वैज्ञानिकहरूको बारेमा चर्चा गरिएको छ ।

दोस्रो भाग अठारौँ शताब्दीका ख्रीष्टियान वैज्ञानिकहरूप्रति समर्पित छ । पहिलो भागमा जस्तै गरी यसमा पनि १० जना वैज्ञानिकहरूको बारेमा उल्लेख गरिएको छ । यस भागमा पाठकले जोन रेदेखि थोमास बेइजसम्मको जीवनी पढ्न पाउने छ ।

त्यसपछि भाग ३ मा उन्नाइसौँ शताब्दीका ख्रीष्टियान वैज्ञानिकहरूको बारेमा अभिलिखित गरिएको छ । जोसेफ प्रिस्टलीदेखि लिएर जोसेफ लिस्टरसम्म जम्मा २० जना वैज्ञानिकहरूको बारेमा यस पाठमा चर्चा गरिएको छ ।

भाग ४ बिसौँ शताब्दीका ख्रीष्टियान वैज्ञानिकहरूको बारेमा हो । यस भागमा विलहेल्म रन्टगनदेखि आर्थुर लिओनार्द स्वालोसम्म गरी १५ जना वैज्ञानिकहरूको बारेमा पढ्न पाइन्छ ।

भाग ५ मा एक्काइसौँ शताब्दीका ख्रीष्टियान वैज्ञानिकहरूको विषयमा उल्लेख गरिएको छ । सर रोबर्ट बोएडदेखि जोन बी. गुडइनफ गरी १६ जना वैज्ञानिकहरूको बारेमा यहाँ चर्चा गरिएको छ ।

अन्तिम अर्थात् भाग ६ लेचाहिँ हाल जीवित ख्रीष्टियान वैज्ञानिकहरूको बारेमा वर्णन गर्छ । पुस्तक प्रकाशन हुँदासम्म जीवित रहेका १९ जना वैज्ञानिकहरूको बारेमा यस भागमा चर्चा गरिएको छ ।

यो १८ जना लेखकहरूद्वारा लिखित रचना हो ।

येशू मानवजातिलाई प्रशस्तताको जीवन दिन आउनुभएको थियो, “म त तिनीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आएँ” (युहन्ना १०:१०) । यो किताब येशूबाट प्रशस्तताको जीवन पाएका मानिसहरूको बारेमा हो । यो ९० जना ख्रिस्टियनको रोचक तथा प्रेरणादायी जीवन गवाहीको बारेमा लिखित पुस्तक हो । हिन्दु, बुद्ध, इस्लाम, सिख जस्ता विविध धर्मबाट तिनीहरू कसरी ख्रिस्टियन बने भन्ने तिनीहरूका कथाले हाम्रा ह्रदय छुन्छन् । येशूका अनुयायी भएर चर्च, सङ्गीत, कला, साहित्य तथा राजनीति जस्ता विविध क्षेत्रमा तिनीहरूले उल्लेखनीय योगदान पुर्‍याएका छन् ।

पुस्तकमा तपाईंले ब्रह्माको खोजी गर्दै हिँडेका रबी महाराजले कसरी येशू ख्रीष्टलाई फेला पारे भन्ने विषयमा मात्र नभई सबैबाट त्यागिएकी फातिमा कसरी प्रचारक भइन् भन्ने बारेमा पनि पढ्न पाउनुहुन्छ । कट्‍टर मुस्लिमबाट कट्‍टर रक्षाशास्त्री बनेका नबिल कुरेसीदेखि बुद्ध धर्मका पुजारीका छोराबाट वरिष्ठ पास्टर बनेका क्रिस्टोफर लापेलको गवाही पुस्तकमा समेटिएका छन् । पुस्तकमा अमेरिकामा हवाई आक्रमण गर्ने जापानी कप्तान मित्सुओ फुचिडा कसरी पर्चा पढेरबाट परिवर्तन भई ख्रीष्टका प्रचारक बने भन्ने घतलाग्दो जीवनी पढ्न पाइन्छ । बाइबलका पानाहरू च्यातेका र जलाएकाहरू पनि कसरी महान् प्रचारक बने भन्नेदेखि लिएर ड्रग्सको कुलतमा फसेकाहरूको रूपान्तरणको कथाले पुस्तकलाई निकै प्रेरणादायी बनाएको छ ।

पुस्तकलाई शीर्षकानुसार ८ भागमा विभाजन गरिएको छ । पहिलो भागमा हिन्दु धर्मबाट ख्रिस्टियन बनेकाहरूको जीवनी पढ्न पाइन्छ भने दोस्रोमा इस्लाम धर्मबाट येशूका अनुयायी बनेकाहरूको बारेमा चर्चा गरिएको छ । तेस्रो भाग यहुदी धर्मलाई छाडी ख्रिस्टियन आस्थालाई अङ्गाल्नेहरूप्रति समर्पित छ । चौथो भागमा अनीश्वरवादी अर्थात् धर्म नमान्नेहरूबाट ख्रिस्टियन बनेकाहरूको बारेमा उल्लेख गरिएको छ । त्यसै गरी पाँचौँ र छैटौँ भागहरूमा क्रमशः बुद्ध धर्म र सिख धर्मबाट येशूलाई पछ्याउनेहरूको बारेमा चर्चा गरिएको छ । सातौँ भाग पारसी धर्मबाट ख्रीष्टका अनुयायी बनेकाहरूप्रति समर्पित छ भने आठौँ अर्थात् अन्तिम भागमा चाहिँ विविध धर्मबाट ख्रिस्टियन बनेकाहरूको बारेमा चर्चा गरिएको छ ।

नेपालका सातवटै प्रदेशको प्रतिनिधित्व हुने गरी १८ जना लेखकद्वारा लिखित यो पुस्तक येशूबाट प्रशस्तताको जीवन पाएका मानिसहरूको बारेमा हो । यो कमल अधिकारीद्वारा सम्पादित २०० औँ पुस्तक हो ।

गोपाल रेग्मी पास्टर, सुसमाचार प्रचारक तथा समाजसेवी हुन् । उनी इम्मानुएल बाइबल मिसनरी चर्च नेपालका वरिष्ठ पास्टर हुन् । विगत ३६ वर्षदेखि उनी यस चर्चमा पास्टरीय सेवा गर्दै आएका छन् । उनी इम्मानुएल चर्चका संस्थापक अध्यक्ष हुन् । यो संस्थाबाट हजारौँ मानिसहरूले प्रभु येशूलाई पाइसकेका छन् । यो संस्थाअन्तर्गत बाइबल स्कुल, विशेष स्कुल, चर्च स्थापना, छात्रवृत्ति कार्यक्रम, सहकारी, बालाश्रम, वृद्धाश्रम, सिलाई तालिम आदिजस्ता विभिन्न परियोजनाहरू सञ्चालनमा आए र कतिपय सेवाहरू अझै पनि जारी छन् । पा. गोपालद्वारा नेतृत्व गरिएको इम्मानुएल चर्चको पहलमा सयभन्दा बेसी मण्डलीहरू स्थापना भए र ६ दर्जनभन्दा बेसी मण्डलीहरू अहिले पनि संस्थामा आबद्ध छन् । १९८७ मा पा. गोपालद्वारा राजधानीमा स्थापित इम्मानुएल चर्च नेपालको झन्डै एक तिहाइ भूभागमा फैलिएको छ ।

पा. गोपाल सुसमाचार प्रचारका लागि जोसिला छन् । उनले सुसमाचार प्रचार अभियान नामक सुसमाचार सुनाउने विधिलाई नेपालमा भित्र्याएका थिए । छोटकरीमा ईई भनेर चिनिने यस अभियानद्वारा नेपालमा ६,००० भन्दा बढी मानिसले तालिम लिइसकेका छन् ।

इम्मानुएल बाइबल इन्स्टिच्युट यस संस्थाको अर्को महत्त्वपूणर्ण अङ्ग हो जसबाट हालसम्म ५५० भन्दा बेसी विद्यार्थीहरूले बाइबलसम्बन्धी ज्ञान लिने मौका पाइसकेका छन् । संस्थाको मण्डली वृद्धिमा यस स्कुलले ठुलो टेवा पुर्‍याएको छ । यस इन्स्टिच्युटको स्थापना पास्टर गोपालको एउटा उल्लेखनीय काम साबित भयो किनकि यस तालिम केन्द्रले यस्ता यस्ता व्यक्तिहरू जन्मायो जसले नेपाली ख्रीष्टियान जगत्‌मा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन् ।

पा. गोपाल समाजसेवी हुन् । उनीद्वारा स्थापित बालाश्रम, वृद्धाश्रम, विशेष स्कुल, छात्रवृत्ति कार्यक्रम, सिलाई तालिम आदिजस्ता परियोजनाहरूमार्फत सयौँ मानिस लाभान्वित भएका छन् । बालाश्रममा ४०० भन्दा बढी बालबालिकाहरूले पढ्ने, लेख्ने, खानेबस्ने सुविधा पाइसकेका छन् । त्यस्तै अन्य परियोजनाअन्तर्गत सयौँ मानिस सुसज्जित भएका छन् ।

कुनै समय ड्रग्सको कुलतमा फसेका गोपालले येशू ख्रीष्टलाई आफ्ना प्रभु र मुक्तिदाता भनी ग्रहण गरेपछि उनको जीवन नाटकीय ढङ्गमा परिवर्तन भएको थियो । पा. गोपाल नेपालका पुराना र परिचित अगुवाहरूको सूचीमा पर्छन् । खास गरी मण्डली स्थापनाको क्षेत्रमा उनले तारिफयोग्य काम गरेका छन् । नेपाली ख्रीष्टियान जगत्‌मा उनको उल्लेखनीय योगदान रहेको छ ।

लेखक कमल अधिकारीको यस बार्‍हौँ पुस्तकमा तेर्‍हौँ शताब्दीदेखि एक्काइसौँ शताब्दीसम्मका १०१ ओटा वैज्ञानिक खोज समावेश गरिएका छन् । यी खोजका लागि १०९ जना आविष्कारकले योगदान दिएका छन् । ती योगदानकर्ताहरू विभिन्न धर्मका थिए । ६६% आविष्कारकसहित ख्रिस्टियन पहिलो स्थानमा छ भने १३% आविष्कारकको धर्म अनिश्चित छ । यहुदी ६% छ भने नास्तिक ५% । परमेश्वर अस्तित्वमा हुनुहुन्छ वा हुनुहुन्न भनी निश्चित छैन भन्ने विचारधारा अङ्गाल्ने व्यक्तिलाई अज्ञेयवादी भनिन्छ र यी खोजमा अज्ञेयवादीहरूको ४% योगदान रहेको छ । परमेश्वरले सम्पूर्ण विश्वको सृष्टि गर्नुभयो तर यसमा उहाँको कुनै हस्तक्षेप हुँदैन भन्ने विचारधारा अङ्गाल्ने व्यक्तिलाई देववादी (डिइस्ट) भनिन्छ र देववादीहरूको ४% योगदान रहेको छ । बौद्धमार्गी र मुस्लिमको १/१ प्रतिशत योगदान देख्न सक्नुहुन्छ ।

१४४० तिर छापाखानाको आविष्कार गर्ने वैज्ञानिक योहान्नेस गुटेनबर्ग मात्र ख्रिस्टियन थिएनन् तर १५२० मा सूर्य केन्द्रित सिद्धान्त पत्ता लगाउने वैज्ञानिक निकोलस कोपर्निकस पनि ख्रिस्टियन नै थिए । १५८० मा जलचक्रको आविष्कार गर्ने खोजकर्ता बर्नार्ड पालिसी मात्र येशूका अनुयायी थिएनन् तर १६०९ मा ग्रहहरूको चाल पत्ता लगाउने जोहानेस केप्लर पनि येशूका चेला थिए । टेलिस्कोपका आविष्कारक ग्यालिलियो ग्यालिली, रक्तसञ्चार प्रणालीका आविष्कारक विलियम हार्बे, कोषका आविष्कारक रोबर्ट हुक, गुरुत्वाकर्षणका आविष्कारक सर आइज्याक न्युटन जस्ता इतिहासमा आफ्ना नाम अमर राख्ने वैज्ञानिकहरू सबै नै ख्रिस्टियन थिए ।

१७७४ मा अक्सिजन पत्ता लगाउने वैज्ञानिक जोसेफ प्रिस्टली, १७८३ मा प्यारासुटको आविष्कार गर्ने लुइस सेबास्टियन, १७९६ मा बिफरको खोप पत्ता लगाउने वैज्ञानिक एडवार्ड जेनर र १८०० मा ब्याट्रीका आविष्कार गरेका अलेस्यान्ड्रो भोल्टा सबै नै प्रभु येशूका अनुयायी थिए ।

यसका अतिरिक्त, क्यामरा, स्टेथिस्कोप, कम्प्युटर, जेनरेटर, साइकल, टाइपराइटर, एअर ब्रेक, मोटरसाइकल, एक्सरे, रेडियो, इसिजी, डिजेल इन्जिल, रगतको किसिम, एसी, विमान, इन्सुलिन जस्ता खोजहरू पत्ता लगाई संसारलाई सभ्यताको यस उचाइसम्म पुर्‍याउन योगदान दिनेहरू सबै नै ख्रिस्टियन थिए ।

पुस्तकमा कुन खोज कहिले, कसले र कहाँ पत्ता लगाइएको थियो भनेर प्रस्ट पारिएको छ । यी खोजको परिणामस्वरूप मानव सभ्यता यहाँसम्म आइपुग्न सफल भएको हो र हरेक देशको हरेक समाज यी खोजहरूबाट लाभान्वित भएको छ ।

बाइबलअनुसार परमेश्वरले यो सम्पूर्ण विश्व सृष्टि गर्नुभयो । विशेष प्रकाश र सामान्य प्रकाश दुईवटा तरिकाले उहाँलाई जान्न सकिन्छ । विशेष प्रकाश भनेको बाइबल हो भने सामान्य प्रकाश भनेको प्रकृति हो । प्राकृतिक ईश्वरशास्त्रमा प्रकृतिको अवलोकनको आधारमा परमेश्वरको बारेमा अध्ययन गरिन्छ । यस पुस्तकमा प्रकृति अर्थात् सामान्य प्रकाशको बारेमा अध्ययन गरिएको छ ।

दाउदका अनुसार प्रकृतिले परमेश्वरको महिमाको घोषणा गर्छ, “आकाशले परमेश्वरका महिमाको वणर्न गर्छ र तारामण्डलले उहाँका हातको सिपको घोषणा गर्छ” (भजन १९:१) । पावलले बताएका छन् कि प्रकृतिको अध्ययनबाट परमेश्वरका अदृश्य गुणहरू थाहा पाउन सकिन्छ, “किनकि उहाँको अदृश्य गुण अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्ङै देखिएको छ” (रोमी १:२०) ।

येशू को हुनुहुन्छ ? कमल अधिकारीको चौथो कृति हो । यो मूलतः येशू ख्रीष्‍टको बारेमा लेखिएको पुस्तक हो । यो पुस्तकले येशू ख्रीष्‍टको ऐतिहासिक तस्बिर अर्थात् सुसमाचारीय तस्बिरको पक्षमा वैज्ञानिक, ऐतिहासिक, तार्किक र पुरातात्त्विक दृष्‍टिकोणबाट वकालत गरेको छ ।

यो पुस्तकले खास गरी ऐतिहासिक ख्रीष्‍टियान विश्‍वासको पक्षमा गहकिला साक्षीसाथै तर्कहरू पेस गर्दछ । ख्रीष्‍टियान विश्‍वास कुनै अन्धविश्‍वास नभई बौद्धिक विश्‍वास हो भन्‍नाका लागि विभिन्‍न प्रमाणहरू जुटाइएका छन् । २३ ओटा अध्यायमा विभाजित यस किताबले बाइबल अद्वितीय छ; येशूले आफू जे हुँ भनी दाबी गर्नुभयो उहाँ त्यही हुनुहुन्छ र परमेश्‍वरको अस्तित्वको लागि विभिन्‍न वैज्ञानिक साक्षीहरू उपलब्ध गराउने काम गर्दछ ।

यो पुस्तक मूलत: बाइबलको विषयमा हो । बाइबल कस्तो खालको पुस्तक हो र यसको ईश्‍वरीय प्रेरणाका लागि के-कस्ता वस्तुगत साक्षीहरू छन् भनी यस पुस्तकले केलाउने काम गर्दछ । ३० ओटा पाठमा विभाजित यस किताबले बाइबलको ईश्‍वरीय प्रेरणाको लागि पूरा भएका भविष्यवाणीहरू, बाइबलमा उपलब्ध विज्ञान, बाइबलको अविनाशितासाथै यसको विश्‍वव्यापी प्रभाव, पुरातत्त्वविद्याले हालै उदाङ्गो पारेका खोजहरूलगायत अन्य थुप्रै साक्षीहरूलाई प्रमाणको रूपमा प्रस्तुत गरेको छ ।