यो पुस्तक ख्रीष्टियान वैज्ञानिकहरूको जीवनी हो । पुस्तकमा बार्हौं शताब्दीका वैज्ञानिक रोबर्ट ग्रोसोटेस्टेदेखि लिएर वर्तमान समयसम्म जीवित वैज्ञानिक जोन सी. लेनोक्ससम्म गरी ९० जना ख्रीष्टियान वैज्ञानिकहरूको जीवनी समेटिएको छ ।

ख्रीष्टियान वैज्ञानिकहरूले संसारमा अमूल्य योगदान पुर्‍याएका छन् । समाजशास्त्री रोड्नी स्टार्कका अनुसार विज्ञानको उदयको लागि ख्रीष्टियान ईश्वरशास्त्र अपरिहार्य थियो । मध्यकालीन ख्रीष्टियान ईश्वरशास्त्रबाट आधुनिक विज्ञानको विकास भएको थियो भनी विज्ञानका विख्यात दार्शनिक अल्फ्रेड ह्वाइटहेडले उल्लेख गरेका छन् । भौतिकशास्त्री अर्नेस्ट माकले भनेका छन्, “हरेक पूर्वाग्रहरहित चिन्तकले स्वीकार गर्नैपर्छ कि यन्त्रविज्ञानको मुख्य विकास भएको युग ईश्वरशास्त्रीय अवधारणाले आधिपत्य जमाएको युग थियो ।” युरोपमा वास्तविक विज्ञानको उदय भएको थियो भनी आधुनिक विज्ञानका इतिहासकार, दार्शनिक तथा समाजशास्त्रीहरू सहमत छन् । पाश्चात्य संस्कृतिमा भएको ख्रीष्टियान विश्वासको अद्वितीय योगदानलाई यसको श्रेय जान्छ । ख्रीष्टियान विचारकहरूले विज्ञान सम्भव छ भनेर मात्र विश्वास गरेनन् तर यो हुनुपर्छ भनेर पनि मानिलिए । विज्ञानको इतिहासलाई पूर्वाग्रहरहित दृष्टिकोणबाट हेर्ने हो भने छर्लङ्ग हुन्छ कि आधुनिक विज्ञान ख्रिस्टियमतको आविष्कार हो । आज चाहे हामी मोटरसाइकलमा चढौँ वा उपचारको लागि अस्पतालमा जाऔँ, यसको लागि हामी येशूको शिक्षा र उहाँका अनुयायीहरूप्रति ऋणी छौँ ।

पुस्तकमा जम्माजम्मी ६ ओटा भाग छन् । पहिलो भागमा तपाईंले अठारौँ शताब्दी अगिका ख्रीष्टियान वैज्ञानिकहरूको बारेमा पढ्न पाउनुहुने छ । यहाँ रोबर्ट ग्रोसोटेस्टेदेखि सर आइज्याक न्युटनसम्म गरी जम्मा १० जना वैज्ञानिकहरूको बारेमा चर्चा गरिएको छ ।

दोस्रो भाग अठारौँ शताब्दीका ख्रीष्टियान वैज्ञानिकहरूप्रति समर्पित छ । पहिलो भागमा जस्तै गरी यसमा पनि १० जना वैज्ञानिकहरूको बारेमा उल्लेख गरिएको छ । यस भागमा पाठकले जोन रेदेखि थोमास बेइजसम्मको जीवनी पढ्न पाउने छ ।

त्यसपछि भाग ३ मा उन्नाइसौँ शताब्दीका ख्रीष्टियान वैज्ञानिकहरूको बारेमा अभिलिखित गरिएको छ । जोसेफ प्रिस्टलीदेखि लिएर जोसेफ लिस्टरसम्म जम्मा २० जना वैज्ञानिकहरूको बारेमा यस पाठमा चर्चा गरिएको छ ।

भाग ४ बिसौँ शताब्दीका ख्रीष्टियान वैज्ञानिकहरूको बारेमा हो । यस भागमा विलहेल्म रन्टगनदेखि आर्थुर लिओनार्द स्वालोसम्म गरी १५ जना वैज्ञानिकहरूको बारेमा पढ्न पाइन्छ ।

भाग ५ मा एक्काइसौँ शताब्दीका ख्रीष्टियान वैज्ञानिकहरूको विषयमा उल्लेख गरिएको छ । सर रोबर्ट बोएडदेखि जोन बी. गुडइनफ गरी १६ जना वैज्ञानिकहरूको बारेमा यहाँ चर्चा गरिएको छ ।

अन्तिम अर्थात् भाग ६ लेचाहिँ हाल जीवित ख्रीष्टियान वैज्ञानिकहरूको बारेमा वर्णन गर्छ । पुस्तक प्रकाशन हुँदासम्म जीवित रहेका १९ जना वैज्ञानिकहरूको बारेमा यस भागमा चर्चा गरिएको छ ।

यो १८ जना लेखकहरूद्वारा लिखित रचना हो ।

येशू मानवजातिलाई प्रशस्तताको जीवन दिन आउनुभएको थियो, “म त तिनीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आएँ” (युहन्ना १०:१०) । यो किताब येशूबाट प्रशस्तताको जीवन पाएका मानिसहरूको बारेमा हो । यो ९० जना ख्रिस्टियनको रोचक तथा प्रेरणादायी जीवन गवाहीको बारेमा लिखित पुस्तक हो । हिन्दु, बुद्ध, इस्लाम, सिख जस्ता विविध धर्मबाट तिनीहरू कसरी ख्रिस्टियन बने भन्ने तिनीहरूका कथाले हाम्रा ह्रदय छुन्छन् । येशूका अनुयायी भएर चर्च, सङ्गीत, कला, साहित्य तथा राजनीति जस्ता विविध क्षेत्रमा तिनीहरूले उल्लेखनीय योगदान पुर्‍याएका छन् ।

पुस्तकमा तपाईंले ब्रह्माको खोजी गर्दै हिँडेका रबी महाराजले कसरी येशू ख्रीष्टलाई फेला पारे भन्ने विषयमा मात्र नभई सबैबाट त्यागिएकी फातिमा कसरी प्रचारक भइन् भन्ने बारेमा पनि पढ्न पाउनुहुन्छ । कट्‍टर मुस्लिमबाट कट्‍टर रक्षाशास्त्री बनेका नबिल कुरेसीदेखि बुद्ध धर्मका पुजारीका छोराबाट वरिष्ठ पास्टर बनेका क्रिस्टोफर लापेलको गवाही पुस्तकमा समेटिएका छन् । पुस्तकमा अमेरिकामा हवाई आक्रमण गर्ने जापानी कप्तान मित्सुओ फुचिडा कसरी पर्चा पढेरबाट परिवर्तन भई ख्रीष्टका प्रचारक बने भन्ने घतलाग्दो जीवनी पढ्न पाइन्छ । बाइबलका पानाहरू च्यातेका र जलाएकाहरू पनि कसरी महान् प्रचारक बने भन्नेदेखि लिएर ड्रग्सको कुलतमा फसेकाहरूको रूपान्तरणको कथाले पुस्तकलाई निकै प्रेरणादायी बनाएको छ ।

पुस्तकलाई शीर्षकानुसार ८ भागमा विभाजन गरिएको छ । पहिलो भागमा हिन्दु धर्मबाट ख्रिस्टियन बनेकाहरूको जीवनी पढ्न पाइन्छ भने दोस्रोमा इस्लाम धर्मबाट येशूका अनुयायी बनेकाहरूको बारेमा चर्चा गरिएको छ । तेस्रो भाग यहुदी धर्मलाई छाडी ख्रिस्टियन आस्थालाई अङ्गाल्नेहरूप्रति समर्पित छ । चौथो भागमा अनीश्वरवादी अर्थात् धर्म नमान्नेहरूबाट ख्रिस्टियन बनेकाहरूको बारेमा उल्लेख गरिएको छ । त्यसै गरी पाँचौँ र छैटौँ भागहरूमा क्रमशः बुद्ध धर्म र सिख धर्मबाट येशूलाई पछ्याउनेहरूको बारेमा चर्चा गरिएको छ । सातौँ भाग पारसी धर्मबाट ख्रीष्टका अनुयायी बनेकाहरूप्रति समर्पित छ भने आठौँ अर्थात् अन्तिम भागमा चाहिँ विविध धर्मबाट ख्रिस्टियन बनेकाहरूको बारेमा चर्चा गरिएको छ ।

नेपालका सातवटै प्रदेशको प्रतिनिधित्व हुने गरी १८ जना लेखकद्वारा लिखित यो पुस्तक येशूबाट प्रशस्तताको जीवन पाएका मानिसहरूको बारेमा हो । यो कमल अधिकारीद्वारा सम्पादित २०० औँ पुस्तक हो ।