<p>परमेश्वरले उहाँका सन्तानहरूको उन्नति गराउने काम यो संसारको तरिकाभन्दा भिन्नै किसिमको छ । उहाँका सन्तानहरूलाई आर्थिक रूपमा आशिष दिनको लागि उहाँका सूत्र भिन्नै खालका छन्, जसले गर्दा उहाँका सन्तानहरूले आफूले उहाँबाट पाएको कुरा उहाँलाई फिर्ता गर्न सकून् । उहाँका यी सूत्र सजिलैसित धन कमाउने योजनाका लागि होइन ।<br />यो पुस्तक तपाईंले दशांश दिनुभएको छैन भनेर तपाईंलाई आरोप वा दोष लगाउन भनी लेखिएको होइन । न त यसमा लेखिएका सिद्धान्तहरूले तपाईंलाई चाँडै धनी हुने योजना बनाउन नै सहायता गर्दछन् । यो त ख्रीष्टको मण्डलीलाई दशांशका आशिषहरूका बारेमा जान्न सहायता पुगोस् भनी लेखिएको हो । परमेश्वरको वचनबाट सत्यतालाई प्रस्तुत गर्नु मेरो चाहना हो, जसले मेरो जीवनलाई र सारा संसारमा भएका अरू पनि हजारौं मानिसहरूको जीवनलाई परिवर्तन गरिदिएको छ र तिनीहरू खाँचोबाट प्रशस्तमा र गरिबीबाट उन्नतितिर बढेका छन् ।</p>
<p>नेपालीमा इसाई ईश्वरशास्त्रीय अध्ययन गर्ने गराउने क्रम विकास हुँदै जाँदा कतिपय अंग्रेजी शब्द नेपालीमा सहज उपलब्ध नभएको महसुस भएको र यथाशक्य पूरा अध्ययन नेपालीमा नै हुन सकोस् भन्ने लागेर रिफर्ड बुक्स हाउसद्वारा पहिलो चरणमा सङ्कलित शब्दहरूको शब्दकोश प्रकाशनमा आउँदा धेरै विद्यार्थी र शिक्षकहरूलाई केही सन्तोष लाग्नु स्वाभाविक छ । यो शब्दकोशमा प्रविष्टि गरिएका शब्द/वाक्यांशहरू मूलतः सुधारवादी ईश्वरशास्त्र अध्ययन गर्न सहज होस् भन्ने हेतुले गरिएकाले यसमा भएका शब्दहरूको व्याख्या पनि सुधारवादी झुकावबाट गरिएका छन् । यसबाट शिक्षक एवम् विद्यार्थीहरू दुवैलाई सहयोग हुने विश्वास गर्दछौं । यो पहिलो प्रयास भएकोले यसमा कुनै त्रुटि रहन गए यसको दोश्रो संस्करणमा सुधार गरिने विश्वास दिलाउन चाहन्छौं । यो शब्दकोशको प्रयोगकर्ताले यसमा हुन गएका त्रुटिहरूलाई औंल्याइदिनु भए आभारी रहनेछौं ।</p>